लक्ष्मण खनाल\ यूएई
पाल्पाका सन्तराम थापा १९ वर्षदेखि यूएईमा मोटर मेकानिकको रुपमा काम गर्थे । उनले सो अवधिमा एक छोरा र एक छोरीको लालनपालन शिक्षादीक्षा, घरपरिवारको खर्च व्यवस्थापनसहित चितवनमा घर जोडे । उनी १९ वर्ष यूएई बसेर देशमै केही गर्ने सपना बोकेर नेपाल फर्किए । नेपाल फर्किएर उनले केही व्यवसाय गर्ने कोसिस पनि गरे, तर उनी सफल हुन सकेनन् र पुनः यूएई फर्किएर जागिर गर्न बाध्य भए । उनी भन्छन्, ‘बेलामा होश पु¥याइएन, कमाइ भएको बेला बचत गरिएन, सामाजिक तडकभडक र परिवारका महँगा सपनामा कमाइ खर्च गरियो’, उनी भन्छन्– ‘अहिले देश फर्केर केही गरौं भन्दा लगानी गर्ने पैसा छैन, सानो लगानी गर्ने वातावरण छैन, विदेसिएपछि सामाजिक र पारिवारिक रुपमा पनि एक्लिँदो रहेछ । अब सकेसम्म यतै जागिर गर्छु ।’
त्यसैगरी पर्वतका रामेश्वर सुवेदीको पनि गुनासो उस्तै छ । उनी विगत १० वर्षदेखि यूएईमा कार्यरत छन् । करोडौं खर्च गरेर पोखरामा घर बनाएका छन्, तर देश फर्केर केही गर्ने योजना भए पनि आर्थिकको अभाव छ । उनी भन्छन्– ‘करोडांै पर्ने घर त छ, तर घरले खान नदिने रहेछ । देश फर्कन र भविष्यको बचतको सपनामा जिन्दगी जाने भयो ।’
सन्तराम र रामेश्वर प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुको जस्तै वर्षौंसम्म वैदेशिक रोजगारीमा रहेर पनि भविष्यको लागि आर्थिक सञ्चिती नहँुदा लामो समयसम्म विदेशमा नै बस्न बाध्य लाखौं नेपालीहरुका कथा उस्तै छन् ।
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारी र विप्रेषणको योगदान अत्यन्त महत्वपूर्ण छ । रोजगारीका पर्याप्त अवसर स्वदेशमा सिर्जना हुन नसक्दा लाखौं नेपाली युवा विदेशमा श्रम बेचिरहेका छन् । उनीहरुको पसिनाको कमाइले परिवारको दैनिक खर्च, शिक्षा, स्वास्थ्य, आवास तथा ऋण भुक्तानीमा ठूलो योगदान पु¥याएको छ । तर विदेशमा कमाएको रकमलाई कसरी सुरक्षित गर्ने, बचत तथा लगानी गर्ने, ऋण व्यवस्थापन गर्ने र दीर्घकालीन सम्पत्ति निर्माण गर्ने भन्ने विषयमा पर्याप्त वित्तीय साक्षरता नहुँदा वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीको पूर्ण लाभ लिन नसकिएको हाम्रो समाजको तीतो यथार्य बन्न पुगेको छ ।
नेपालीहरुको वैदेशिक रोजगारीमा भएको आम्दानी मुख्यतः घरखर्च, ऋणको किस्ता तिर्न, ब्याज तिर्न, घरजग्गा जम्मा गर्न र केही व्यवसाय वा उद्यमशील क्षेत्रमा लगानी भएको पाइन्छ । विदेशमा रहेका नेपाली श्रमिक केवल व्यक्तिगत आम्दानीका स्रोत नभई नेपालको समग्र अर्थतन्त्रका महत्वपूर्ण आधार भएको भनिन्छ तर ठूलो रकम देशमा भित्रिँदैमा मात्र परिवारको दीर्घकालीन आर्थिक समृद्धि सुनिश्चित हुँदैन । त्यसका लागि वित्तीय ज्ञान, अनुशासन र सही लगानी आवश्यक हुन्छ ।
वित्तीय साक्षरता
विदेशमा रहेका नेपाली श्रमिकको वित्तीय साक्षरतामा पहिलो समस्या आम्दानी र खर्चको व्यवस्थित योजना नहुनु हो । धेरै श्रमिकले मासिक आम्दानी, घर पठाउने रकम, ऋणको किस्ता, बचत र भविष्यको लगानीलाई छुट्टाछुट्टै योजनामा राख्दैनन् । परिणामस्वरुप लामो समय विदेश बसेर पनि पर्याप्त बचत वा उत्पादनशील सम्पत्ति निर्माण गर्न नसक्ने अवस्था आउँछ, जसले उसको विदेश बसाइँ लम्बिने हुन्छ ।
सिद्धार्थ बैंकको लागि यूएई प्रमुख नविन पौडेलका अनुसार, यूएईमा रहेका करिब ८ लाख नेपालीहरुमध्ये अनुपातमा वित्तीय साक्षरता एकदमै कम छ । वित्तीय साक्षरताभित्र रेमिट्यान्स र रेमिट्यान्सको सदुपयोग हो । अहिले रेमिट्यान्सबाट नेपाल भित्रिएको रकम अनुत्पादक क्षेत्र र बिलासीका समानहरुमा खर्च भएको पाइन्छ । ‘यदि वित्तीय साक्षरताको ज्ञान नदिने हो भने उनीहरु नेपाल फर्कने वा फर्केर स्वदेशमा केही गर्छु भन्ने वातावरण बन्दैन’, पौडेल भन्छन्– ‘त्यसैले उनीहरुलाई वैधानिक विप्रेषण, बचत, उत्पादनमूलक क्षेत्रमा लगानी, आर्थिक व्यवस्थापनको विषयमा सरकारी तवरबाट होस् या अन्य माध्यमबाट साक्षर बनाइनु जरुरी छ ।’
वैदेशिक रोजगारीमा जानेहरुको लागि अर्को समस्या भनेको महँगो ऋण र वैदेशिक रोजगारीको लागत हो । नेपाली आप्रवासी श्रमिकले विदेश जानुअघि भर्ती प्रक्रियासँग सम्बन्धित खर्च व्यहोर्ने गरेका छन् र उक्त रकम उनीहरुले महँगो ब्याजदरमा ऋण लिने गर्छन् । औसतमा उनीहरुले यस्तो खर्च असुल गर्न करिब ३ देखि ६ महिनाको आम्दानी बराबर समय लगाउनुपर्ने हुन्छ, कतिपयको हकमा वर्ष पनि पुग्न सक्छ ।

विदेशमा कमाएको रकम विभिन्न अवैधानिक माध्यमबाट पठाउने र ठगिनेको अवस्था पनि उस्तै छ । विभिन्न बहानामा विदेशमै रहेका नेपालीहरुले एकले अर्कोलाई ठग्ने रकम लिएर सम्पर्कविहीन हुने र श्रमिकको कमाइ डुब्ने समस्या पनि छन् ।
अर्को चुनौती परिवारतर्फ पनि छ । विदेशबाट आएको पैसा घरखर्च, घर निर्माण, जग्गा खरिद वा सामाजिक प्रतिष्ठासँग जोडिएका खर्चमा बढी प्रयोग हुँदा उत्पादनशील लगानी कम हुन सक्छ । हामीले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको ठूलो हिस्सा दैनिक उपभोगमा खर्च गर्ने र पूँजी निर्माण वा उत्पादनमूलक क्षेत्रमा लगानी नगरिनु पनि अर्को चुनौती हो ।
जीवनस्तर उकास्न के गर्न सकिन्छ ?
सबैभन्दा पहिले वैदेशिक रोजगारीपूर्व अनिवार्य वित्तीय शिक्षा दिनुपर्छ । श्रम स्वीकृति लिनुअघि प्रत्येक श्रमिकलाई बजेट निर्माण, ऋण व्यवस्थापन, बैंकिङ, बीमा, विप्रेषण, लगानी, कर, साइबर सुरक्षा र अवकाशपछिको आर्थिक योजनासम्बन्धी छोटो तर व्यावहारिक तालिम दिन जरुरी छ ।
प्रत्येक श्रमिकका लागि विदेश जानेदेखि फर्किएसम्मको वित्तीय योजना तयार गर्नुपर्छ । विप्रेषणलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने नीति सरकारको तर्फबाट ल्याइनु आवश्यक छ । रेमिट्यान्स बचत गर्ने परिवारलाई कृषि, पर्यटन, साना तथा मझौला उद्योग, नवीकरणीय ऊर्जा र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सकिन्छ ।
सस्तो र सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न कामदार पठाउने शुल्क हटाउने वा घटाउने, अनधिकृत दलाल नियन्त्रण गर्ने, रोजगार सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र गन्तव्य मुलुकमा श्रमिकलाई कानुनी तथा कन्सुलर सहायता उपलब्ध गराउने व्यवस्था बलियो बनाउनुपर्छ । देश फर्किएका श्रमिकलाई आर्थिक पुनः एकीकरण र व्यवस्थापन गरिनुपर्दछ । उनीहरुको सीपको अभिलेख राखी स्थानीय तह, बैंक तथा निजी क्षेत्रसँग जोडेर रोजगारी वा उद्यमका अवसर सिर्जना गर्न सकिन्छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुले आफ्नो आम्दानीलाई योजनाबद्ध रुपमा व्यवस्थापन गर्नुपर्छ । सर्वप्रथम मासिक आम्दानी र खर्चको बजेट बनाई अनावश्यक खर्च घटाउनुपर्छ । कमाइको निश्चित हिस्सा नियमित रुपमा बचत गरी भविष्यको लागि सञ्चित गर्नु पर्दछ । रेमिट्यान्स पठाउँदा औपचारिक बैंक तथा वित्तीय संस्थाको प्रयोग गर्नुपर्छ । उच्च ब्याजदरका अनावश्यक ऋणहरु लिने र बिलासीका सामानहरु किन्ने बानी हटाउनुपर्छ । परिवारलाई पनि आर्थिक योजना र बचतको महत्वबारे जानकारी दिनुपर्छ । स्वदेश फर्किएपछि आयआर्जन गर्न सकिने व्यवसाय वा सीपमा लगानी गर्ने योजना बनाउनुपर्छ ।
विदेशमा रहेका नेपाली श्रमिकले नेपालको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहेका छन् । तर विदेशमा गएर धेरै कमाउनु मात्र पर्याप्त होइन । कमाएको रकम जोगाउने, सही ठाउँमा लगानी गर्ने र त्यसबाट स्थायी सम्पत्ति निर्माण गर्ने क्षमता विकास गर्नु अझ महत्वपूर्ण छ । त्यसैले वैदेशिक रोजगार नीतिलाई केवल कति जना विदेश पठाउने र कति रकम रेमिट्यान्स भिœयाउने भन्ने दृष्टिकोणबाट हेर्नुभन्दा श्रमिकको आर्थिक सुरक्षा र जीवनस्तर कसरी स्थायी रुपमा सुधार गर्ने भन्ने दृष्टिकोणबाट हेर्न आवश्यक छ ।
यदि प्रत्येक श्रमिकलाई वित्तीय साक्षरता, सुरक्षित वैदेशिक रोजगार, डिजिटल बैंकिङ, बीमा, दीर्घकालीन बचत, उत्पादनशील लगानी र स्वदेश फर्किएपछि उद्यमको अवसरसँग जोड्न सकियो भने विप्रेषण उपभोगमा मात्र सीमित नभई सम्पत्ति निर्माण, रोजगारी सिर्जना र राष्ट्रिय उत्पादन वृद्धिको आधार बन्न सक्छ । अन्ततः वैदेशिक रोजगारीको सफलता विदेशमा कति वर्ष बिताइयो वा कति पैसा पठाइयो भन्नेमा होइन, त्यसबाट श्रमिक र उनको परिवारले कस्तो सुरक्षित, सम्मानजनक र आर्थिक रुपमा आत्मनिर्भर भविष्य निर्माण गर्न सके भन्ने कुरामा मापन हुनुपर्छ ।
