मध्यपूर्वका अमेरिकी सैनिक अखडामा इरानी आक्रमणबाट व्यापक क्षति

File : TOPSHOT - Smoke rises from the direction of an energy installation in the Gulf emirate of Fujairah on March 14, 2026. Smoke could be seen rising from the direction of a major UAE energy installation on March 14, in what appeared to be the latest strike targeting the Gulf's petroleum facilities hours after the US struck Iran's Kharg Island. (Photo by AFP) /

वासिङ्टन, वैशाख २० । अमेरिका र इरानबिच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलमा आक्रमण गरी क्षति पुर्याएका छन् ।

समाचार प्रतिवेदनअनुसार, तीमध्ये धेरैजसो सैन्य स्थल गम्भीररूपमा क्षतिग्रस्त भएका छन्, जसका कारण केही आधार लगभग प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । एक संसदीय सहयोगीका अनुसार, प्रभावित संरचना मध्यपूर्वमा रहेका अधिकांश अमेरिकी सैन्य संरचनाको हिस्सा हुन् । क्षतिको स्तर फरक–फरक रहेको बताइएको छ ।

केही स्थल पूर्णरूपमा ध्वस्त भई बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् भने केहीलाई रणनीतिक महत्वका कारण मर्मत गरेर पुनः प्रयोग गर्न सकिने आकलन गरिएको छ । उपग्रह तस्बिरका आधारमा इरानले विशेषरूपमा अमेरिकी उन्नत रडार प्रणाली, सञ्चार प्रणाली र हवाई साधनलाई निशाना बनाएको देखिएको छ । यी उपकरण महँगा मात्र नभई सजिलै प्रतिस्थापन गर्न नसकिने भएकाले अमेरिकी सैन्य क्षमतामा यसको प्रत्यक्ष प्रभाव पर्ने बताइएको छ ।

विशेषज्ञका अनुसार, इरानले लागतको हिसाबले प्रभावकारी लक्ष्य चयन गरेको देखिन्छ, जसले कम स्रोत प्रयोग गरेर अमेरिकालाई ठूलो रणनीतिक क्षति पु्र्याउन मद्दत गरेको छ । यसबिच, अमेरिकी रक्षा निकायका एक उच्च अधिकारीका अनुसार इरानसँगको यो द्वन्द्वले अहिलेसम्म अमेरिकी करदातालाई करिब २५ अर्ब डलर खर्च गराइसकेको छ ।

यस घटनाक्रमले मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति र रणनीतिमा गम्भीर प्रश्न उठाएको छ । साथै, यसले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाउने र आगामी दिनमा द्वन्द्व अझ चर्किन सक्ने संकेतसमेत दिएको छ । रासस-सिन्ह्वा