इजरायली आक्रमणमा लेबनानमा हरेक दिन मानवीय क्षति

२० वैशाख, बेरुत । दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसैगरी जररियामा भएको अर्को आक्रमणमा दुई जना महिलासहित चार जनाको मृत्यु भएको र थप चार जना घाइते भएको बताइएको छ ।

मन्त्रालयले तटीय सहर टायरनजिकै भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएकोसमेत जनाएको छ । युद्धविरामका बाबजुद इजरायलले यी सबै क्षेत्रमा स्थानीयलाई बाहिर निस्कन चेतावनी दिएको थियो । स्थानीयलाई सहरबाट कम्तीमा एक किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरिएको थियो ।

लेबनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको एक घण्टाभन्दा पनि कम समयमा आक्रमण सुरु गरेको जनाएको छ । एनएनएले टायरसहित दक्षिण लेबनानका विभिन्न स्थानहरूमा इजरायली आक्रमण भएको जनाएको छ । इजरायल र हिजबुल्लाहबीच १७ अप्रिलमा युद्धविराम भएको थियो । तर, इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । इजरायली सेनाले दक्षिणी यारुन सहरका धार्मिक आस्थाका केन्द्र र विद्यालय ध्वस्त पारेको एनएनएले जनाएको छ ।
रासस-एएफपी