२० वैशाख, काठमाडौं । युक्रेनी ड्रोनहरूले रुसका भित्री इलाकासम्म पुगेर तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरिरहेका छन् । आक्रमणबाट उडेको बाक्लो धूवाँ अन्तरिक्षबाटै देखिएको थियो । यसले ब्ल्याक सी किनारका पर्यटकीय क्षेत्रहरूमा विषाक्त वर्षा गराइरहेको छ । यी आक्रमणहरूको उद्देश्य मस्कोको तेल निर्यात घटाउनु हो । किनकि, तेल बिक्रीबाट प्राप्त रकमलाई रुसले युक्रेनविरुद्धको युद्धमा लगाइरहेको छ ।
आर्थिक क्षतिको विवरण स्पष्ट नभए पनि आक्रमणको वातावरणीय प्रभावको असर युद्धमोर्चाभन्दा निकै टाढाका भूभागमा बस्ने रुसीहरूले महसुस गरेका छन् । युक्रेनी ड्रोनहरूले अप्रिलमा ब्ल्याक सीस्थित तुआप्से क्षेत्रका तेल प्रशोधन गृह र निर्यात टर्मिनलहरूमा दुई सातामा चार पटक आक्रमण गरेका छन् । आक्रमणपछि आगलागी हुँदा स्थानीय नागरिकलाई उद्धार गर्नुपरेको थियो ।
त्यस्तै, आकाशमा धूवाँको मुस्लो उडेको देखिन्थ्यो । तुआप्से क्षेत्र युद्धमोर्चाबाट कम्तीमा ४५० किलोमिटर टाढा छ । १८ अप्रिलमा तेस्रो आक्रमणपछि तुआप्सेका गभर्नर भेनियामिन कोन्ड्राटयेभले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । उक्त भिडियोमा आपत्कालीन सेवामा खटिएका एक कर्मचारीले उम्लिरहेको तेलजन्य पदार्थ सडकमा पोखिएर कारहरूमा क्षति पुगेको बताएका छन् ।
रुसको पर्म क्षेत्रमा रहेको एक तेल पम्पिङ स्टेसनमा लगातार दुई दिन आक्रमण गरिएको दाबी युक्रेनले गत बिहीबार गरेको थियो । यो स्थान युक्रेनबाट १,५०० किलोमिटर टाढा पर्छ । पर्मका गभर्नर दिमिर्त्री माक्होनिनमार्फत रुसी मिडियाहरूले पनि आक्रमणको पुष्टि गरेका छन् । तर औद्योगिक पूर्वाधारमा मात्रै ड्रोन आक्रमण भएको माक्होनिनको दाबी छ ।
बाल्टिक समुद्र किनारको उस्त लुगो क्षेत्रमा मार्चको अन्त्यमा एक साताको अन्तरमा तीन पटक आक्रमण भयो । यो क्षेत्र रुसका ठूला तेल तथा ग्यास निर्यात टर्मिनलमध्ये एक हो । युक्रेनबाट यो क्षेत्र कम्तीमा ८ सय किलोमिटर टाढा छ । आक्रमणको धेरै सातापछि क्षेत्रीय गभर्नर अलेक्ज्यान्द्रर द्रोज्डेन्कोले सेन्ट पिटर्सवर्गसँग जोडिएको उस्त लुगो क्षेत्र हवाई खतराले युद्धमोर्चामा परिणत भएको घोषणा गरे ।
युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले ती आक्रमणहरूलाई रुसमाथि लगाइएको अन्तर्राष्ट्रिप प्रतिबन्धसँग तुलना गरेका छन् । इरानले हर्मुजको जलघाँटी बन्द गर्दा उत्पन्न वैश्विक ऊर्जा संकटपछि रुसले तेल बिक्री लगातार बढाइरहेका बेला यो आक्रमणलाई अझै महत्त्वपूर्ण रूपमा हेरिएको छ । गत शुक्रबार जेलेन्स्कीले युक्रेनको आक्रमण निकै प्रभावकारी रहेको बताए । तेल निर्यात टर्मिनलहरूमा क्षति पुग्दा रुसले अहिलेसम्म झन्डै ७ अर्ब अमेरिकी डलर बराबरको घाटा व्यहोरिसकेको उनको दाबी थियो । उस्त लुगो र प्रिमोर्स्कजस्ता प्रमुख तेल बन्दरगाहमा तेल चुहिएको जानकारी युक्रेनी गुप्तचर निकायलाई प्राप्त भएको दाबी उनले एक साताअघि गरेका थिए ।
ड्रोन आक्रमणले रुसको तेल प्रशोधन क्षमतामा समेत बाधा पुगिरहेको विज्ञहरूले बताएका छन् । विज्ञहरूका अनुसार पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धका कारण रुसलाई तत्कालै मर्मतका लागि आवश्यक पार्टपुर्जा ल्याउन पनि कठिन छ । यी सबैका बाबजुद रुसले पश्चिम एसिया संकटको फाइदा उठाइरहेको हुनाले आर्थिक असरको तस्बिर अस्पष्ट छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार गत मार्चमा रुसले औसत दैनिक ७१ लाख ब्यारेल तेल बेच्यो । निर्यात परिमाण र मूल्य दुवै बढ्दा रुस ठूलो फाइदामा छ ।
रुसले मार्चमा १९ अर्ब अमेरिकी डलरको तेल कारोबार गर्यो । जबकि, फेब्रुअरीमा ९ अर्ब ७० करोड डलरमात्रै आम्दानी भएको थियो । ‘फेब्रुअरीताका संकटग्रस्त अवस्थामा पुगेको रुसको तेल क्षेत्र र अर्थतन्त्र दुवैलाई इरानमाथिको अमेरिकी आक्रमणले जोगाइदिएको छ,’ परामर्श कम्पनी म्याक्रो एडभाइजरी लिमिटेडका सीईओ क्रिस वेफरले भने ।
उनले रुसमा ठूलो विस्फोट भइरहेको देखिए पनि त्यहाँका तेल पूर्वाधारमा भने थोरै क्षति नपुगेको बताए । ‘तेलको ट्यांकरलाई आक्रमण गर्दा आगलागी हुन्छ र धूवाँको मुस्लो उड्छ । झट्ट हेर्दा ठूलै आक्रमण भएजस्तो देखिन्छ । तर, देखिए जति क्षति भएको हुँदैन । तर, त्यस्तो क्षतिले आपूर्तिलाई केही दिनमात्रै ढिला गर्छ,’ उनले भने, ‘पम्प स्टेसन, कम्प्रेसर वा तेल लोड गर्ने पूर्वाधारमा गरिने आक्रमणभन्दा यसले गर्ने हानि कम हुन्छ । रुसमा ट्यांकको दाँजोमा ती पूर्वाधारहरूको सुरक्षा राम्रोसँग गरिएको देखिन्छ । एपी