ठमेलमा घन्किनेछन् आदित्य

काठमाडौं । आदित्य नारायण झा, बलिउडमा युवा पुस्ताबीच लोकप्रिय नाम हो । बलिउड गायन जगतका हस्ती उदित नारायण झाका छोरा आदित्यले काठमाडौंको ठमेललाई संगितमय बनाउने भएका छन् ।

२१ असारमा उनको प्रस्तुती ठमेलमा हेर्न पाइने भएको छ । पर्यटकीय क्षेत्र ठमेलमा आउने पक्का भएसँगै आदित्य दोस्रो पटक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

उनले यसअघि पोखरामा आफ्नो प्रस्तुती दिइसकेका छन् । जुलाईको ६ तारिखका दिन ठमेल स्थित क्लब फरेनहाइटमा उनको लाइभ प्रस्तुत राखिएको छ ।

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालका चर्चित गीतहरु प्रस्तुत गर्ने बताइएको छ ।

गायनसँगै उनी अभिनयमा समेत जम्ने क्रममा छन् । आदित्यले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा आउने पुष्टी गरेका छन् ।

भिजिट नेपाल २०२० अन्तर्गतको अभियान सफल बनाउन नेपाल आउन लागेको उनले बताएका छन् ।

उनले कार्यक्रममा सहभागी हुन समेत आफ्नो समर्थकहरुलाई निम्तो दिएका छन् ।

आदित्य जुलाई ६ मा नै नेपाल आउनेछन्। नेपाल आएलगत्तै पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकी कार्यक्रममा सहभागी हुने तय भएको छ ।