काठमाडौं । कोरोना भाइरसका कारण आइसीयूमा उपचार गराएर मनोज गजुरेल अन्ततः कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरस पुष्टी भएपछि घरमै आइसोलेसनमा बसेका उनी ११ दिन अगाडी भने अस्पताल भर्ना भएका थिए । निमोनियाका कारण उनमा बढी समस्या देखिएको थियो ।
अस्पताल बसाईपछि भने आफु घरमै आराम गरिरहेको सामाजिक संजालबाट गजुरेलले जानकारी गराएका छन् । उनले भनेका छन्, ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’।
केही दिनमा पूर्ण स्वस्थ भएर आफु काममा फर्किने विश्वास उनको छ । उनमा १० कात्तिकमा कोरोना पुष्टी भएको हो । गजुरेलको बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालको आइसीयूमा उपचार भइरहेको थियो ।
उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकलाई धन्यवाद समेत दिएका छन् । उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।