यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’

काठमाडौं । मेरियम वेब्स्टर शब्दकोशका प्रकाशकको भनाई अनुसार कुनै एक शब्दले युगकै परिभाषा बोल्छ । सन् २०२० मा यस्तै शब्दको चर्चा सर्वाधिक भएको छ । जसको नाम हो प्यान्ड्यामिक । महामारीका रुपमा चिनिने यो वर्ष इन्टरनेटमा सन् २०२० मा सबैभन्दा बढी खोजी गरिएको शब्द बन्न सफल भएको हो ।

मेरियम वेब्स्टर शब्दकोशले इन्टरनेटका माध्यमबाट वर्षभर बढी खोजी भएको शब्द सार्वजनिक गर्दै आएको छ । यस क्रममा प्यान्ड्यामिक सन् २०२० को वर्ष शब्द बन्न सफल भएको हो । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिएसँगै इन्टरनेटमा यसबारे व्यापक जनचासो बढ्यो ।

किनकी यो भाइरसले संसारलाई ठप्प मात्र बनाएर करोडौं मानिसलाई संक्रमित बनायो । १४ लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

मेरियम वेब्स्टर डटकमले प्यानड्यामिक शब्दको अर्थका रुपमा एउटा रोगको प्रकोप जुन व्यापक भूगोलमा फैलिने गर्छ, एकभन्दा बढी देश वा महादेश र यसले सामान्यतया जनसंख्याको एक महत्त्वपूर्ण अनुपातलाई असर गर्दछ भनी राखेको छ ।

कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले मार्च ११ मा महामारी घोषणा गरेको थियो । त्यसपछि यो शब्दको प्रयोग र खोजी अधिक हुन थालेको हो । एजेन्सी