नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० उपाधी

काठमाडौं । यो वर्षको मिस नेपाल नम्रता श्रेष्ठ बनेकी छिन् । फाइनलमा पुगेका कुल २० प्रतिस्पर्धीबाट उनी उत्कृष्ट बन्दै उपाधी जितेकी हुन् । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट २० जना छानेर अन्तिम प्रतिस्पर्धा गराइएको थियो । शनिबार राती काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा अन्तिम प्रतिस्पर्धा आयोजना भएको हो ।

नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितेकी छिन् । उनी सन् २०२१ का लागि ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने सुन्दरी बनेकी छिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए ।

यो बर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजियाले जितिन् । ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठको हातमा पर्यो । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेकी छिन् । सिमल, सुप्रिया र सन्ध्याले टाइटलसँगै साढे २ लाख पुरस्कार प्राप्त गरेका छन् ।