काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय नखुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय संचालनमा नआउने भएका छन् । कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखसँग छलफल गरेको थियो । विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको भन्दै काठमाडौंमा समेत तत्काल स्कुल नखोल्ने निष्कर्ष निकालेको हो ।

काठमाडौंमा कोभिड अझै नियन्त्रणमा नआइसकेको अवस्थामा विद्यालय खोल्दा जोखिम हुन सक्ने आंकलन गरिएको छ । अर्कोतर्फ अहिले जाडोको मौसम समेत रहेका कारण अनलाइन कक्षालाई नै प्रभावकारी बनाउने निर्णय गरिएको हो ।

बालबालिकाले स्वास्थ्य मापदण्ड आफैं पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पुरा नभए बन्द गर्नेसम्मको तयारी समेत गर्नुपर्ने निर्णय समितिले गरेको छ ।