काठमाडौं । लगातार दुई वर्ष रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार यस वर्ष भने प्रदान गरिने भएको छ ।
चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका असरमा आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना हुने भएको हो । कार्यक्रम राष्ट्रपति निवासमै आयोजना गर्ने तयारी छ ।
पुरस्कार समारोहको तिब्र तयारी भइरहेको बोर्डले विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । यसअघि २०७४ र २०७५ मा अवार्ड कार्यक्रम हुन सकेको थिएन ।
यसपटक तीन वटै वर्षको अवार्ड एकै पटक प्रदान गरिने भएको बोर्डले उल्लेख गरेको छ । तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेको बताइएको छ ।
राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगद पुरस्कार राशीको समेत व्यवस्था छ । पुरस्कृत हुनेलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।