काठमाडौं । आज देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीले श्रीपञ्चमी पर्व मनाउँदैछन् । माघ शुक्ल पञ्चमीका दिन पर्ने यो पर्वमा विद्याकी देवी सरस्वतीको पूजाआज गरिन्छ । यस दिन विद्यालय जाने उमेरका बालबालिकाको पहिलो सिकाई प्रारम्भ गराउन अर्थातः अक्षाराम्भका लागि पनि शुभसाइत मानिन्छ ।
सूर्य उत्तरतिर लाग्ने र दिन लामो हुने तथा वसन्त ऋतु प्रारम्भ हुने दिनका रुपमा समेत आज मान्यता छ । सोहीकारण यो दिनलाई ‘वसन्त पञ्चमी’ समेत भन्ने गरिएको छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्र्ने प्रचलन रहेको छ ।
आज काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा विद्यार्थी तथा भक्तजनको घुइचो लाग्छ । हनुमानढोका दरबारमा वसन्त श्रवण गर्ने समेत प्रचलन छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ ।
आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न समेत छुट्टै साइत जुराउन नपर्ने मान्यता रहेको छ ।