काठमाडौं । नेपालमा अब कक्षा १० मा पनि सिधै भर्ना हुन पाइने भएको छ । सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने प्रावधान ल्याएको हो । शिक्षा नियमावलीमा संशोधन गगर्दै सरकारले कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने अनिवार्य प्रावधान हटाएको छ ।
नयाँ प्रावधान अनुसार महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने व्यवस्था थपिएको छ ।
यसअघि वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा भर्ना हुन पाइदैनथ्यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थानान्तरण हुने विद्यार्थीलाई लक्षित गरेर नियमावली संशोधन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।