फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर

file

पोखरा । पोखरास्थित फेवाताल अतिक्रमणको शिकार बनिरहेको छ । यसको उचित संरक्षण गर्न नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसै सन्दर्भमा प्रदेश सरकारले फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक गरेको छ । अब फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर बनेको छ । ११ हजार २५५ रोपनी ११ आना १ पैसा कायम क्षेत्रफल निर्धारण गरिएको छ भने तालको सीमारेखाको परिधि १८ किलोमिटर कायम गरिएको छ ।

तालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कनका लागि गठित समितिको प्रतिवेदन आईतवार सार्वजनिक भएको छ । तालको अध्ययन गर्न २ कात्तिक २०७७ मा प्रदेश सरकारले जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेललाई प्रतिनिधि तोकेर केन्द्र सरकारसमक्ष पठाएको थियो । त्यसपछि सरकारले ९ सदस्यीय समिति गठन गरेको थियो ।

सोही समितिले अध्ययनपछि तालको क्षेत्रफल निर्धारण गरेको हो । २०७७ फागुन ११ को मन्त्रिपरिषद बैठकले तालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन सम्बन्धी निर्णय गरेको हो ।

समितिका अनुसार जनप्रतिनिधि, स्थानीय वासिन्दा, ज्येष्ठ नागरिकसहितको अन्तरक्रिया, फेवातालमा मिसिन आउने खोलाहरूको अवस्थिति र आकार, फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल तथा यसअघिका अध्ययन समेतलाई ध्यानमा दिई नयाँ क्षेत्रफल कायम गरिएको हो ।

दुर सम्वेदन तथा भू–भौतिक अध्ययन मार्फत वैज्ञानिक तबरबाट क्षेत्रफल कायम गरेको मुख्यमन्त्रीको भनाई छ । अब फेवातालको पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चङ्खपुर बीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ क्षेत्रलाई तोकिएको छ ।