सौल-मार्च ०८-२०२१
नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा लागिपरिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले नारी दिवसको अवसर पारेर नेपाली भाषा, साहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गरिरहनुभएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम सम्पन्न गरेको छ।
प्राविधिक समस्याका कारण निर्धारित समयभन्दा केही ढीलो शुरू भएको जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न भएको सो कार्यक्रममा अमेरिका, बेलायत, क्यानाडा, जापान, नेपाल र कोरियाका लगायत थुप्रै देशका नारी स्रष्टाहरूले आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष लोकराज न्यौपानेले गर्नुभएको थियो
विगत लामो समयदेखि अनेसास कोरियाले कविता, गजल,मुक्तक जस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रमहरू गरेको स्मरण गर्दै यस कार्यक्रममा पनि हरेक विधामा कलम चलाउने अधिक नारी स्रष्टालाई उपस्थित गराएर नेपाली साहित्यमा नारीको योगदानलाई उच्च सम्मान गरिएको च्याप्टर अध्यक्ष प्रमोद सारंगले बताउनु भयो ।
यस्तै प्रमुख अतिथी वरिष्ठ साहित्यकार माया ठकुरीले राम्रा-राम्रा र पृथक कार्यक्रम गर्दै अगाडि बढीरहेको कारण नेपाली साहित्यिक संस्थाहरू मध्य अनेसास कोरियाले विश्वव्यापी लोकप्रियता हासिल गरेको र आगामी दिनमा पनि अझ नयाँ-नयाँ भिन्न खालका कार्यक्रमहरू ल्याएर नवीन सोचका साथ संस्था अगाडि बढोस् भनी उच्च प्रशंसा गर्दै कोरिया च्याप्टरलाई बिशेष धन्यवाद दिनुभएको थियो।
यस्तै विशिष्ट अतिथि साहित्यकार गीता खत्री र अतिथी बाबा बस्नेतले पनि वर्तमान परिपेक्ष्यमा कोरिया च्याप्टरको साहित्यिक सक्रियता निकै लोभलाग्दो र प्रशंसनीय रहेको भन्दै आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो।
वरिष्ठ साहित्यकार माया ठकुरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विशेष अतिथिमा बोर्ड अफ ट्रष्टीकि अध्यक्ष साहित्यका र गीता खत्री र अतिथिमा अनेसासकी क्षेत्रिय उपाध्यक्ष बाबा बस्नेत रहनु भएको थियो भने रचना वाचन तर्फ कवि तथा साहित्यकारहरू मोमिला जोशी,राधिका गुरागाईं,गीता कार्की,,समाश्री,दीपा राई पुन,रेणुका सोलु,तारा अधिकारी,सरला श्रेष्ठ,सरू बस्नेत,सुशिला हसिना खड्का,उर्मिला कार्की,जीविका अश्रु,सुमित स्मित,ममता कर्माचार्य र मञ्जीला अनिल,दिपा मेवाहाङ राई हुनुहुन्थ्यो।
अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा –कलाकार सम्मान र हरेक नयाँवर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । साथै, काव्य -सुधाको त्रैमासिक रूपमा अतिथि कवि रचना कार्यक्रम र साप्ताहिक रूपमा विश्वव्यापी रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आएको छ।