काठमाडौं । नेपाल दक्षिण एसिया मै सबैभन्दा खुशी नागरिक बस्ने मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकास समाधान नेटवर्कले गरेको सर्वेक्षणमा यस्तो नतिजा आएको हो । सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको छ ।
सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा रहेको थियो । यसपटक पाँच स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको छ । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको हो ।
राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ देशमा अध्ययन गरेको बताइएको छ । कूल ग्राहस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।
रिपोर्ट अनुसार फिनल्याण्ड यसपटक पनि विश्वकै सबैभन्दा खुशी देशको रुपमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुशी देशको रुपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान रहेको छ । भारत १ सय ४४ औँ स्थानमा छ ।
नेपाल, बंगलादेश र पाकिस्तानभन्दा भारत तल रहेका छन् । खुशी देशको शीर्ष सूचीमा फिनल्याण्डपछि क्रमशः डेनमार्क, स्विजरल्याड, आइसल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्युजिल्याण्ड र अष्ट्रिया रहेको छन् ।