इलाम । हत्या आरोपमा भारतमा चार दशक लामो जेल जीवन बिताएर नेपाल आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन् । उनलाई विहीबार जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता प्रदान गरेको हो । सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरेका छन् ।
व्यक्ति हत्याको आरोपमा थुनामा राखेपनि उनीविरुद्धको आरोप पुष्टी भएको थिएन । तर, थप सुनुवाई बीना उनलाई ४० वर्षसम्म जेलमा राखिएको थियो । दुर्गाप्रसादले भने आफुलाई फसाएको बताएका छन् । यो घटना बाहिरिएपछि भारतीय संचारमाध्यमको सहायतामा उनको रिहाईको बाटो खुलेको हो ।
दुर्गाप्रसादलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको हो । नागरिकता पाएसँगै उनलाई भारतमा क्षतिपूर्ति माग दाबी गर्न पहल गर्ने तयारी परिवारको रहेको छ । उच्च अदालत कोलकाताले तिम्सिनको परिवारले क्षतिपूर्ति मागे दिनू भन्ने आदेश जारी गरिसकेको छ ।