‘बेनीको बजार, जतामाया उतै छ नजर…’गीतका सर्जक श्रेष्ठको निधन

बुटवल । म्याग्दीको सदरमुकाम बेनीको पहिचान स्थापित गर्न सफल जनप्रिय गीत ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।

नेपालको राष्ट्रिय समाचार समितिका अनुसार उनको ७५ वर्षको उमेरमा बुटवलमा बिहीबार निधन भएको हो । उनको जन्मथलो म्याग्दी भएपनि बसाइ सरी परिवार रुपन्देहीमा बस्दै आएको थियो ।

‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यो गीत अहिले पनि उत्तिकै कर्णप्रिय छ । यो गीतमा श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठले नै युगल स्वर दिएका हुन् । श्रेष्ठ मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित रहेको परिवारिक स्रोतले जनाएको छ ।