नेपालगन्जमा एक साताका लागि विद्यालय बन्द

फाइल तस्वीर (THT)

नेपालगन्ज । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच केन्द्र सरकारलाई विद्यालय बन्द गर्न दवाव बढेको छ । तर, विद्यालय संचालकले नमानेपछि केन्द्र सरकारले निर्णय लिन सकेको छैन । तर, नेपालगन्जमा भने स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय लिएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय लिएको हो ।

उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

बाँकेमा बुधबार एकैदिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजानेसमेत निर्णय गरेको छ । सरकारले आज देशभरका १४ जिल्लालाई कोरोनाको रेड जोनमा राखेको छ । जसमा बाँके पनि एउटा हो ।