रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय निर्माण शुभारम्भ


अमृता के सी ( रोनी )
काठमाडौं, ३ बैशाख । जगडोलमा रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय निर्माण शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।बैशाख १ गते नव वर्षको अवसर पारेर राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ ।

सङ्ग्रहालयको निर्माण कलाकार सरगम सम्राट पाख्रिनले गरेका हुन् । सङ्ग्रहालयमा अन्तर्राष्ट्रिय व्यक्तित्वका २८ कलाकृति सहित करिब १०० सामग्री सङ्ग्रह गरिएको छ ।सङ्ग्रहालयमा गौतम बुद्ध, महात्मा गान्धी, अलबर्ट आइन्स्टाइन, राइट ब्रदर्स, सर आइज्यक न्यूटन, माइकल फराडे, जेसस क्राइष्ट लगायत व्यक्तिका तस्बिर काठका ठुटा र रुखका जरा एवं राँगो तथा खसीका हड्डी प्रयोग गरेर बनाई सङ्ग्रहमा राखिएको छ । कार्यक्रममा बोल्दै पाख्रिनले रुखको ठुटा र जराबाट बनेको सङ्ग्रहालय विश्वमै पहिलो भएको दावी गरे ।

कार्यक्रममा वन विभागका महानिर्देशक मानबहादुर खड्काले यस किसिमको सङ्ग्रहालय अहिले सम्म नेपालमा अन्यत्र नबनेको जानकारी दिए । साथै उनले शहीद तथा निजामती पार्क, घुन्सा जस्ता महत्वपूर्ण स्मारक निर्माण भइरहेको स्थलमा यस्ता सङ्ग्रहालयले नमूना स्थल बनाउन सहयोग गर्ने बताए । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन(युनेस्को)का नेपाल राष्ट्रिय आयोगका निमित्त सहायक महासचिव डा. बाबुराम अधिकारीले शहीद सङ्ग्रहालय सँगै युनेस्को सङ्ग्रहालय पनि निर्माण गर्न लागिएको बताए।

कार्यक्रममा शहीद स्मारक उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले सङ्ग्रहालय प्रवेशका लागि नेपाली आगन्तुक सँग रु २५, विदेशी सँग रु ५०, विद्यार्थी र सामुदायिक वनका सदस्यलाई रु १०, ज्येष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेश गराइने जानकारी दिए । शहीद स्मारकको कामको ७२ प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति भएको जानकारी कार्यक्रममा उनले दिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, शिक्षक प्रकाश अधिकारी, सामुदायिक वनकी सचिव देवी बजगाइँ लगायतले फरक किसिमका सङ्ग्रहालयले देशको पहिचान गराउनुका साथै आन्तरिक एवं पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।