काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रिया सार्वजनिक भएको छ । उनले यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिकको संज्ञा दिएका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतबाट भएको फैसलाको समेत विपरित भएको प्रतिक्रिया दिएका छन् ।
अदालतले फैसलामा अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको उनले स्मरणण गराएका छन् । संविधानको धारा ७६ .५) अनुसार वैकल्पिक सरकार गठन गर्न वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको उनको निष्कर्ष रहेको छ ।
