स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले
स्वाभिमान किनवेच पापि सरकार गर्न थाल्यो
स्वाश पनि फेर्न नदिई कठै ज्यान हर्न लाग्यो
यतिसम्म हत्यारा भयो सरकार
लासमाथि पाइला राखी वैतरणी तर्न लाग्यो
वालुवाटरको जग्गाभित्र विषबृक्ष हुर्कन थाले
संरक्षण गर्ने बा भएपछि लुट्नेहरु फुर्कन थाले
हदभन्दा ज्यादा लुटेराहरुको चुरीफुरी
साइबार स्यालहरुका हातपाखुरा सुर्कन थाले
चित्कारको सत्य भुल्दै शितलनिवास ठुम्का लाउन थाले
जोगाउन सत्ता शक्ति रातविरात अनुयायी धाउन थाले
यतिसम्म निर्लज्ज नभएको भए हुन्थ्यो
लाखौलाख भाञ्जाभाञ्जी हिजैबाटै मामाघर आउन थाले
उपचारविनै मर्नुपर्ने घरका सन्तान ढल्न थाले
जासुसलाई बैधानिकता राजधानीमै चल्न थाले
कहिलेसम्म मौन बस्ने रातो रगत भएकाहरु
स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले !