यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने

काठमाडौं । यस वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष पहिलो पटक यस्तो मोडल अपनाइएको थियो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको नेपाली संचारमाध्यमहरुले जनाएका छन् ।

कोरोना महामारीको बढ्दो संक्रमणका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएको भन्दै यस्तो निर्णय भएको हो । यसअघि राष्ट्रिय परिक्षा बोर्डले एसईई परिक्षा वैकल्पिक माध्यमबाट गर्न सरकारसँग सिफारिस गरेको थियो । आन्तरिक मूल्यांकन विधिबाट गर्दा अब विद्यालयहरुले आफै विद्यार्थीको नम्बर तय गरि केन्द्रमा बोर्डमा पठाउन सक्ने छन् ।