धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

जनकपुर । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको हो ।

माछा पालना गर्न नयाँ पोखरी खनिएको र सोही पोखरीमा पौडी खेल्ने क्रममा बालिकाको ज्यान गएको हो । प्रहरीका अनुसार बालबालिका गोठालो गएका थिए । अत्यधिक गर्मी रहेको त्यस समय बालिकाहरु पौडी खेल्न जाँदा डुबेपछि उनीहरुसँगै गएका बालकहरुले आफन्तलाई खबर गरेका थिए ।

आफन्तले तत्काल प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ पुगेको प्रहरीको टोलीले ५ जना बालिकाको शव निकालेको हो । प्रहरीले पोखरी वैध वा अवैध हो भन्नेबारे अनुसन्धान थालेको जनाएको छ ।