जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता

काठमाडौं । जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले अमान्य घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले यस्तो निर्णय गरेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुबै पक्षले एक अर्कालाई गरेको कारबाही अमान्य भएको हो । राजीतिक दलसम्बन्धी ऐन अन्तर्गत यस्तो निर्णय आएको आयोगको भनाई छ । यो पार्टीको पदाधिकारीको विवरण साविक कै कायम रहने भएको छ । यसले जसपालाई बाध्यकारी रुपमा मिल्नु पर्ने देखिएको छ ।

जसपामा अहिले दुई पक्ष छन् । एउटा पक्ष सरकारमा गएको छ । अर्को पक्ष विपक्षी गठबन्धनमा रहेको छ । प्रतिपक्षमा रहेको भट्टराई–यादव पक्षले सरकारमा गएको ठाकुर र महतोसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको थियो । आयोगमा यादव पक्षले बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर बुझाएको थियो। ठाकुर पक्षले पत्र काटेको थियो ।