काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारमा विश्व बैंकले सवा ७ अर्ब ऋण दिने भएको छ । ७ अर्ब २० करोड ऋण सहायता उपलब्ध गराउने घोषणा विश्व बैंकले गरेको हो । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको नेपालस्थित विश्व बैंक कार्यालयद्धारा जारि विज्ञप्तीमा उल्लेख छ ।
बैकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्नेछ । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोसले मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको बताएका छन् । विश्व बैंक नेपालमा बढी सहयोग उपलब्ध गराउने द्धिपक्षी निकाय हो । विश्व बैंकले नेपालको पूर्वाधार र शिक्षामा बढी रकम सहायता उपलब्ध गराइरहेको छ ।