मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरे निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण


अमृता के सी ( रोनी )
काठमाडौँ,जेठ ३१। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठले यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति,स्मारकको अवलोकन भ्रमण गरेका छन्।

कार्यक्रममा विश्व वातावरण दिवसको अवसर पारेर मन्त्री श्रेष्ठले वृक्षारोपण गरेका थिए ।आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य मार्फत निर्णय भए बमोजिम काठमाडौँको यज्ञडोल जगडोल सामुदायिक वनमा युनेस्को संग्राहलय ग्राम निर्माणका लागि समेत उनले स्थलगत निरीक्षण गरेका हुन् ।
सोमबार भएको सो निरीक्षण अवलोकन भ्रमणमा क्षेत्र नं ३ का सांसद कृष्ण राई, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिब डा.बाबुराम अधिकारी, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्ट, लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिब डा. बाबुराम अधिकारी र राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडोल जगडोल सामुदायिक बन पर्या-पर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले स्वागत गरेका थिए भने अध्यक्ष सिग्देलले राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माणको हाल सम्मको वस्तु स्थिति, प्रगति विवरणका साथै भाबि योजना एवं समस्याका बारेमा जानकारी गराएका थिए ।