काठमाडौं । विपक्षी दलका नेताहरुले वर्तमान लडाई केपी ओली व्यक्तिविरुद्ध नभई त्यस प्रकारको प्रवृत्ति विरुद्ध भएको बताएका छन । शनिबार विपक्षी दलका नेताहरुले पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । सो अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्यादेवी भण्डारीले राष्ट्रपतिभन्दा बढी प्रधानमन्त्री केपी ओलीको दलीय कार्यकर्ता भएर काम गरेको आरोप लगाए । संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा देउवाले संसद्को कुनै पनि सदस्यले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरे प्रधानमन्त्री नियुक्त गर्नुपर्ने राष्ट्रपतिको कर्तव्य भएको उल्लेख गरे । संविधानको अन्तिम व्याख्या अदालतले मात्र गर्न सक्ने भन्दै उनले अदालतले संविधानको व्याख्या मात्र नभई रक्षा समेत गर्ने विश्वास व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रजातान्त्रिक छलफल नै मन नपराउने व्यक्ति भएको बताए । ओलीकै कारण नेकपामा पार्टीभित्र अन्तर सङ्घर्ष चर्किएको उनले बताए । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूको लडाइ केपी ओली व्यक्तिसँग नभएको स्पष्ट पारे । उनले केपी ओली प्रवृत्ति विरुद्ध लडाई भएको बताए ।
पत्रकार सम्मेलनमा नेताहरुले आफुहरु एक रहेको स्पष्ट संकेत गरे । ओलीले चाल्ने कुनै पनि षडयन्त्रले यो गठबन्धन प्रभावित नहुने उनीहरुको सन्देश थियो । संसद विघटन विरुद्धको मुद्दा अहिले अदालतमा विचाराधिन अवस्थामा रहेको छ । देउवालाई सबै दलको सहमतिमै प्रधानमन्त्रीको प्रस्ताव गरिएको भन्दै नेताहरुले यो संविधानको रक्षाका लागि महत्वपूर्ण रहेको बताए ।