सुनसरी । सुनसरीमा भएको भयानक सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको हायस माइक्रोले पिकअप भ्यान र मोटरसाइकललाई एक साथ ठक्कर दिएको प्रहरीले जनाएको छ । आइतबार बिहान ८ बजे कोशी गाउँपालिका वडा नम्बर ८ नङ्खु टोलस्थित पूर्वपश्चिम राजमार्गमा यो र्दुघटना भएको हो । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा दुई जना घाइते छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर वडा ७ का ४० वर्षीय अक्षय कुमार गुप्ता गम्भीर घाइते भएका थिए।
उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा ज्यान गएको छ । दुर्घटनामा हायस चालक नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय विवश तामाङ र हायसका सहचालक २५ वर्षीय नारायण बत्स्याल घाइते भएका छन् । उनीहरुको विराट नर्सिङ होममा उपचार जारी छ ।