काठमाडौं । हुलाक सेवा विभागले बोक्ने चिठ्ठीपत्र तथा कार्गो नेपाल एयरलाइन्सबाट ओसारपसार हुने भएको छ । यस्तो सामान यसअघि थाई एयरले बोकिरहेको थियो । नेपाल एयरलाइन्सबाट हुलाक सेवा विभागको सामान बोक्ने गरि मंगलबार नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता भएको छ । नेवानिका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो । नयाँ सम्झौता सन् २०२१ जुलाई १ देखि लागू हुनेछ ।
हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुने भएका हुन् । विभागले भारतमा भने एयर इण्डियाबाट सामानहरु पठाउने गर्छ । नयाँ सम्झौताले विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ । सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिम प्रकाश पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका छन्।