राष्ट्रिय सभाको अधिवेशन आजबाट शुरु हुँदै

काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबाट शुरु हुँदैछ । संघीय संसद भवन बानेश्वरमा बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिको आह्वानपछि आजका लागि बैठक बोलाइएको छ । आजको बैठकमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउने कार्यसूची रहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्ने कार्यसूची समेत रहेको छ ।

आजै गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची समेत रहेको सचिवालयले जनाएको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ ।