काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सभामुखका वकिलबाट बहस हुँदैछ । शुक्रबारसम्म सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेका छन् । उनीहरुको बहस सकिएसँगै आइतबारबाट सभामुख तर्फका वकिलले बहस थाल्ने छन् । सरकारी पक्षका वकिललाई कुल १५ घण्टा बहसको समय दिइएको थियो । त्यसमध्ये सरकारी वकिलले ७ र प्रधानमन्त्रीका निजी वकिलले ७ घण्टा बहस गरेका छन् । बाँकि १ घण्टा सभामुखका वकिलले बहस गर्नेछन् ।
सभामुखको सचिवालयका अनुसार वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लवकुमार मैनाली, उपेन्द्र केशरी न्यौपाने र अधिवक्ता मेघराज पोखरेल तथा श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट बहस गर्ने गरि तोकिएका छन् । बहस सकिएपछि निवेदकले जवाफ दिने प्रक्रिया हुन्छ । त्यसपछि अदालतको सहयोगी (एमीकस क्युरी)ले आफ्नो राय दिने छ ।
७ जेठमा मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक र मङ्सिरमा मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको निर्णयविरुद्ध अहिले अदालतमा बहस जारी छ ।