काठमाडौं । दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित कम्तिमा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको नौगाढ गाउँपालिका ३ खार भन्ने स्थानको चौखुट्टेमा भिषण वर्षाका कारण पहिरो गएको हो । पहिरोले एकै घरका दुई र थप एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको छ ।
घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको समेत ज्यान गएको छ । तीनै जनाको शव पहिरोबाट निकालिएको छ । नौगाढ गाउँपालिका ३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छिन् । यस गाउँपालिकामा पहिरोले ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना समेत बगाएको छ ।