कैलाली । कैलालीमा १५ वर्षकी एक किशोरीले ३ वर्षिय बालकको हत्या गरेको स्वीकार गरेकी छिन् । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या अभियोगमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । त्यसमध्ये एक जनालाई भने सघाएको आरोप लागेको छ । कैलाली प्रहरीका अनुसार बालकलाई नातामा दिदी पर्ने किशोरीले कुलोमा धकेलेर हत्या गरेकी हुन् ।
आफूसँगै जामुन खाने लोभमा घरबाट लिएर गएकी १५ वर्षीया किशोरीले बालकलाई जमरा कुलोको किनारबाट धकेलेको स्वीकार गरेको प्रहरीले जनाएको छ । ती किशोरीकी १४ वर्षकी साथी समेत पक्राउ परेकी छिन् । घरायसी रिसइबीका कारण बालकको हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । उनकी साथीलाई भने बालकको खुट्टाको बाला राख्न दिएको र उनले राखिदिएपछि हत्यामा सघाएको आरोप लागेको छ ।
घटना घटाएपछि पोल खुल्ने डरले उनी साथीको घरमा गएर किताब लगेको, चाँदीका बाला साथीलाई लुकाउन दिएको अनुसन्धानबाट खुलेको हो । ती किशोरीहरुले बालकका ती बाला बजारमा लगेर बिक्रिसमेत गर्न खोजेको खुलेको छ ।