गुल्मीको मुसिकोटमा कर तिर्न सदरमुकाम हिँडेका व्यापारी चढेको जिप दुर्घटना, तीन जनाको मृत्यु

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा बुधबार भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर चार जनाको पाल्पामा उपचार जारी छ । बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा, वडा नम्बर ५ हरेवाका रेशम कार्की र रेसुङ्गा नगरपालिका २ बाख्रेछेडाकी ६२ वर्षीया सुनिता विक छन् । उनीहरुमध्ये थापा र कार्की स्थानीय व्यवसायी हुन् । उनीहरुसहितका व्यापारी शान्तिपुरबाट सरकारलाई कर तिर्न जिल्ला सदरमुकाम तमघास हिँडेका थिए । दुर्घटनाको कारण खुलेको छैन । सडकबाट करीव ४ सय मिटर तल झरेको जिप दुर्घटनामा तीन जनाको भने घटनास्थलमै ज्यान गएको हो ।