काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले कमल थापा, गोकुल बास्कोटा र महेश बस्नेतलाई प्रतिगमनको बाटो नलिन स्पष्ट संकेत गरेका छन् । दुई दिन अगाडी पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहको प्रस्ताव गरेका थिए । यो प्रस्तावमा कमल थापा, गोकुल बास्कोटा र महेश बस्नेतले सही थापेका थिए । तर, पार्टीका संयोजक मिलन पाण्डेले भने स्पष्टसँग विवेकशील साझाले प्रतिगमन स्वीकार नगर्ने बताएका छन् ।
यसले विवेकशील भित्रको विवाद भने छताछुल्ल भएको छ । पाण्डेले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रम सहितको दस्ताबेज आउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने समेत जानकारी गराए । संयोजक पाण्डेले आफ्नो धारणा सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘मलाई धेरै साथीहरूले अब पार्टी कसरी अगाडि बढ्छ भनेर सोध्दै हुनुहुन्छ । पार्टीमा, अब, यो पार्टीको स्थापना कालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रोग्रेसिभ बनाउने स्पष्ट नीति र कार्यक्रमहरू सहितको दस्ताबेज आउने छ । ’
संयोजक पाण्डेले पार्टीले र देशले प्रतिगमन नस्वीकार्ने भन्दै अगाडी लेख्छन्, ‘ढुक्क हुनुहोस्, पार्टीले अनि देशले प्रतिगमन स्विकार्ने छैन । फेरि देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन । समाजलाई विभाजित गर्ने छैन । देशलाई फेरि व्यवस्था परिवर्तनको नाउँमा २०–२५ वर्ष पछाडि धकेल्ने छैन ।’ ‘त्यसैले, कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुसी हुन जरुरी छैन,’ उनले भनेका छन् ।