विदेश जान भिसा लागेपछि काठमाडौं आउन लागेका युवा तुइनबाट झरेर वेपत्ता, भारतीय फौजले काटेको हो तुइन

File

दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को लापरवाहीका कारण दार्चुलामा एक नेपाली युवाको ज्यान गएको छ । तुइनबाट महाकाली नदी तरिरहेका ३० वर्षिय युजा जयसिंह धामी नदी पार नहुँदै तुइनको फलामे डोरी भारतीय सीमा सुरक्षा बलले निकालिदिंएपछि उनी नदीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । महाकालीमा खसेर उनी पौडिन नसकेपछि खोलाले बगाएको छ । घटना शुक्रबार बिहान भएको हो ।

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा उनीमाथि सुरक्षाबलले जानाजान लापरवाही गरेको छ । धामीसँगै गएका तीन जना तुइन तरेर पार भएका थिए । ब्यास गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्रसिंह बुर्‍ढाथोकीले नेपाली संचारमाध्यमलाई जनाए अनुसार धामी नदी छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालेको हो ।

घटनाबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ । पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गर्दै यस्तो आग्रह गरिएको हो । धामी नेपाली सेनाको जागिर छाडेर विदेश जाने योजनामा थिए । सोही अनुसार भिसा आएपछि उनी काठमाडौं जान दार्चुलाको सदरमुकाम जान नदी पार गर्दैथिए ।