बैतडी । जंगली बँदेल धपाउन छाडिएको करेन्ट लागेर बैतडीमा एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै मकैबारीमा जङ्गली बँदेल धपाउन छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
बैतडी प्रहरीका अनुसार जङ्गली बँदेल मार्न मकैबारीमा करेन्ट छाडिएको खुलेको छ । दाजुभाई भने बँदेल धपाउन मकैबारी छिरेका थिए । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटेको छ । जिल्लामा जङ्गली जनावरले मकै नष्ट गर्न थालेपछि त्यसलाई जोगाउन कृषकले अनेक उपाय लगाउने गरेका छन् ।