धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु

जनकपुर । धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ बस्ने ५४ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादवको मृत्यु भएको प्रहरीले बताएको छ । मंगलबार साँझ ६ बजेतिर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा टोल निवासी बुलन यादवको घरमा भजनकिर्तन गर्न जोडेको माइकमा करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरे । घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।