रसुवा । रसुवामा पहिरोले घर पुर्दा एकै घरका चार जनाको मृत्यु भएको छ । गतराती अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको राससले जनाएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको बताइएको छ । प्रहरीका अनुसार राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घरभित्र सुतेका श्रीमती, छोरा, छोरी सबै पुरिएको र बाहिर सुतेका श्याम गलान घाइते अवस्थामा भेटिएका थिए । घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको छ । शव परीक्षणका लागि नुवाकोटस्थित त्रिशूली अस्पताल पठाइएको छ । आज बिहानैदेखि स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना विष्णु दलगण र सशस्त्र प्रहरीसमेतको खोजीमा जुटेका थिए ।