काठमाडौं । नेपालमा मनसुन सक्रिय भएको छ । यसले कम्तिमा एक साता ठूलो वर्षा गराउने भएको छ । जसले गर्दा पहाडमा पहिरो र नदी किनार तथा तराई भेगमा डुबानको समस्या निम्त्याउने जोखिम रेको छ । यो पटक मनसुनको समयमा औसतभन्दा धेरै वर्षा भएको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद्हरुको भनाई छ । यस्तो जोखिम साता भरी नै रहने बताइएको छ ।
गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो केहीबेर पानी पर्न रोकिने सम्भावना छ । बेलुकापखदेखि फेरि पानी पर्नेछ । भोलि पनि मौसम यस्तै रहने छ । पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेको छ । वर्षाले पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।