लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेश गर्न कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाउनु पर्ने भएको छ । खोप लगाएको नभए पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्ने निर्णय गाउँपालिकाले गरेको छ । गाउँपालिकाले त्रिभुवन विमानस्थल र लुक्ला विमानस्थललाई पत्र लेख्दै गाउँपालिकामा हवाईजहाज तथा हेलिकप्टरमार्फत प्रवेश गर्ने सबै यात्रुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको वा पीसीआर नेगेटिभ भएको रिपोर्ट भएको अवस्थामा मात्र यात्रा गराउने निर्णय गरेको जनाएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अनुसार सो गाउँपालिका भित्र भने ९८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । लुक्ला सगरमाथाको प्रवेशद्धार हो । अब नेपालमा पदयात्राको सिजन शुरु हुन लागेसँगै गाउँपालिकाले सुरक्षा सतर्कता बढाएको हो ।