काठमाडौं । काठमाडौं महानगरपालिकासहित अहिले काठमाडौंका गल्लीगल्ली र घरघरमा फोहोर थुप्रिएको छ । उपत्यकाका सडक र चोकमा फोहोर भरिएर वर्षाको समयमा शहर नै कुरुप हुन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेर बहादुर देउवालाई गुहार्नु परेको छ । फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समेत सकारात्मक भएको बताइएको छ । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतले प्रधानमन्त्रीलाई भेटेका छन् ।
देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको पहल समेत लिएका छन् । सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएपछि फोहोर उठ्न बन्द भएको बताइएको छ । महानगरपालिकाले सिसडोलसम्म फोहोर बोकेका गाडी लैजान सडक निर्माणको पहल गर्न प्रधानमन्त्रीलाई भनेको हो । प्रधानमन्त्रीले समेत तत्काल सडक विभागका महानिर्देशकलाई टेलिफोनमार्फत तत्काल बाटो बनाउन निर्देशन दिएका छन् । बाटो निर्माण हुनेवित्तिकै तुरुन्तै फोहोर उठाउन सकिने महानगरले बताएको छ । महानगरपालिकाले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट छिटो निर्माण सकेर हस्तान्तरण गर्न समेत भनेको छ ।