संखुवासभा हत्याकाण्ड: ६ जनाकै टाउकोमा प्रहार गरि हत्या भएको खुल्यो

धरान । संखुवासभामा भएको सामूहिक हत्या काण्डमा मारिएका ६ जनालाई नै टाउकोमा प्रहार गरि मारिएको पाइएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । चिकित्सकका गरेको प्रारम्भिक जाँचबुझ अनुसार टाउकोमा देखिएको गम्भीर चोटका कारण उनीअरुको मृत्यु भएको देखिएको छ । टाउकोमा पछाडीबाट लौरो वा मुंग्रो जस्तो वस्तुले प्रहार गरिएको र यसले टाउकोमा गम्भीर चोट लाग्दा ज्यान गएको पाइएको छ । प्रहरीले हत्यामा प्रयोग भएको वस्तु अझै बरामद गर्न सकेको छैन ।

प्रहरीका अनुसार हत्या सोमबार बिहान भएको हुन सक्ने अनुमान छ । मृतकको खुट्टामा जुत्ता चप्पल समेत देखिएका कारण घटना अझ रहस्यमय बनेको हो । सोमबार बिहान संखुवासभाको मादी नगरपालिका–१, उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको छ ।

९३ वर्षीया बौद्धमान कार्की मात्र सकुशल छन् । बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की, नाति विपिन र नातिनी गोमा कार्कीको हत्या भएको छ । प्रहरीले मंगलबारबाटै घटनाबारे गम्भीर अनुसन्धान थालेको बताएको छ ।