एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने

काठमाडौं । एमाले विभाजन भएपछि बनेको नयाँ पार्टी एकिकृत समाजवादी दलमा जान चाहने स्थानीय र प्रदेश तहका जनप्रतिनिधिलाई मंगलबारसम्मको समय सीमा दिइएको थियो । सो समय भित्र सनाखत गरेका जनप्रतिनिधिको पद सुरक्षित रहने छ । साथै उनीहरु नयाँ दलमा रहने छन् । अन्यको भने एमाले मै रहने छन् । यो जनता समाजवादी दलमा समेत लागु हुने छ ।

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरूलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिइएको म्याद मंगलबार सकिएको हो । एमालेका जनप्रतिनिधिहरुलाई माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिलाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गर्ने समय तोकिएको थियो ।

सबै जिल्लाहरुसँग समन्वय गरी सनाखतहरु प्रदेशको निर्वाचन कार्यालयमार्फत ल्याउन आयोगले निर्देशन दिएको छ । नयाँ दलमा सनाखतका लागि नागरिकता, मतदाता नामावली वा स्थानीय तहमा निर्वाचित प्रमाणपत्रको प्रतिलिपि लगायतका बुझाइएका कागजपत्रहरु ई–मेलमार्फत पनि पठाउन सकिने थियो । केही दिनमै आयोगले सनाखत सार्वजनिक गरि जनप्रतिनिधिको सूचि सार्वजनिक गर्नेछ । यससँगै संघदेखि स्थानीय तहसम्म दुई नयाँ दल अस्तित्वमा आउने छन् ।