संखुवासभा हत्याकाण्ड: एकै व्यक्तिले गरेको प्रहरीको भनाई, आरोपित पक्राउ

संखुवासभा । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा एक जना मात्र व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले हत्या आरोपित व्यक्तिलाई पक्राउ समेत गरेको छ । प्रहहरीका अनुसार हत्या आरोपमा शनिबार बिहान छिमेकी २६ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका छन् । उनलाई आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने कार्यक्रम छ ।

पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्छन् । मानसिक रोगको सिकार बनेका उनले औषधी समेत खाइरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको वस्तु भेटिएको छ । साथै उनको घर भित्र रहेको लुगामा समेत रगत लत्पत्तिएको भेटिएको छ । प्रहरीले रगत र मृतकको डिएनए भिडाएसँगै उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

हत्या उनी एक्लैले गरेको समेत बताइएको छ । सुरुमा तेजबहादुरको हत्या गरेपछि परिवारका सदस्यको हत्या भएको थियो । गत सोमबार मादी नगरपालिका १ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको हो ।

प्रहरीका अनुसार व्यक्तिगत रिसिइवीका कारण उनले हत्या गरेको स्वीकार गरेका छन् । आफुलाई हेप्ने गरेको, पागल भन्ने गरेको र केही समय अगाडी आफ्नी आमाको लडेर भएको मृत्युमा समेत तेजबहादुरलाई उनले आशंका गर्ने गरेका थिए । सोही कारण उनको हत्या गरि बदला लिन चाहेको देखिएको छ ।