काठमाडौँ, असोज २। काठमाडौँको १३८ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेशन हुने भएको छ।अधिवेशनको तयारी सम्बन्धमा केन्द्रीय निर्वाचन समितिबाट तोकिएका निर्वाचन अधिकृत सहित बैठक बसेर अधिवेशन प्रक्रिया शुरू गरेको छ। देशका विभिन्न जिल्लाका वडाहरुमा अधिवेशन भए पनि काठमाडौँ जिल्लाका ११ स्थानीय तहका १३८ वडामा भने अधिवेशन भएको थिएन।

पार्टी जिल्ला कार्यालय ज्ञानेश्वरमा शुक्रबार बसेको बैठकले भोलि असोज २ गते शनिवार सम्म निर्वाचन अधिकृत तोकेर अधिवेशन प्रक्रिया शुरु गर्ने लगायतका निर्णयहरु गरेको छ।

काठमाडौँ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिए संगै अव असोज ५ गते सबै वडामा अधिवेशन गर्ने तयारीलाई तीव्र पारिएको छ। त्यसै क्रममा वडा अधिवेशनको व्यवस्थापन र परिचालनका लागि जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा बैठक बसेर अधिवेशनको मिति तय गरिएको हो।