संखुवासभा हत्याकाण्ड: थप चार जना अनुसन्धानको दायरामा

काठमाडौं । केही साता अघि एकै परिवारका ६ जनाको सामुहिक हत्या भएको घटनामा थप चार जनामाथि अनुसन्धान शुरु भएको छ । सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनामाथि अनुसन्धान शुरु गरेको हो । प्रहरीले पहिचान भने खुलाएको छैन । घटनामा उनीहरुको संलग्नता वा प्रत्यक्षदर्शी भएपनि घटना लुकाएको हुन सक्ने आशंका प्रहरीको छ ।

घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई भने प्रहरीले शुरु मै पक्राउ गरि सार्वजनिक समेत गरिसकेको छ । लोकबहादुर र उनका भाईका बयानका आधारमा थप मानिस अनुसन्धानमा तानिएका हुन् । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले शुक्रवार लोकबहादुरका भाइले लुकाएको अवस्थामा भेटाएको थियो । अहिले पुनः प्रहरी घटनास्थलमा खटिएको छ । गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।