काठमाडौं ‘साक्षर जिल्ला’ घोषित

काठमाडौं । काठमाडौं साक्षर जिल्ला घोषित भएको छ । सोमवार वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । काठमाडौंको साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत पुगेसँगै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । सामाजिक विकास मन्त्री सुवेदीका अनुसार साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौं, साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौंका संयोजकको प्रस्ताव र प्रचलित कानुनअनुसार काठमाडौंको साक्षरता प्रतिशत ९६ दशमलव ८८ प्रतिशत पुगेसँगै यस्तो घोषणा भएको हो । अहिले ललितपुर शतप्रतिशत साक्षर जिल्ला रहेको छ ।

काठमाडौं समेत शतप्रतिशत साक्षर जिल्ला बनाउने घोषणा सो अवसरमा गरियो । शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरूलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान निर्देशन दिए । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवम्, जिल्ला र देशलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको निर्णय छ ।