प्रधानमन्त्री आज सुदुरपश्चिमका बाढी र डुबान प्रभावित क्षेत्रमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदुरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । बिहीबार धनगढी पुगेर त्यहाँबाट हेलिकप्टरमार्फत् डडेल्धुरा, डोटीलगायत क्षेत्रको निरीक्षणमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम मै बास बस्नेछन् । गत शनिबारदेखि परेको पानीले सुदूरपश्चिम क्षेत्रमा बढी क्षति गरेको छ । यसअघि बुधबार सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । घरबारबिहीन भएकालाई तत्काल सेल्टर बनाउन ५० हजार र खाद्यान्नलगायत जोहो गर्न २० हजारसम्म नगद उपलब्ध गराउने निर्णय समेत सरकारले गरेको छ ।