शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल युनेस्कोको महासभामा भाग लिन फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन उनी बुधबार राति ८ : २५ मा पेरिस प्रस्थान गरेको मन्त्रालयल जनाएको छ । १९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षामन्त्री एवम् युनेस्कोका लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार अर्थात ११ नोभेम्बरमा सम्बोधन गर्ने भएका छन् ।

युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उनले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । १२ नोभेम्बरमा सहभागी मुलुकका शिक्षामन्त्रीहरूको बैठकमा मन्त्री पौडेलले विश्वव्यापी आधुनिक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यहाँ रहँदा मन्त्री पौडेलले विज्ञान तथा प्रविधि, समाज विज्ञान, आमसञ्चार, संस्कृति, जलवायु परिर्वतनलगायतका विषयमा छलफल गर्ने भएका छन् । महासभामा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, यूनेस्कोका लागि नेपालका सहायक महासचिव डा. बाबुराम अधिकारीसमेत सहभागी छन् ।